सर्लाहीमा आज पनि बिहानैदेखि शितलहर र बाक्लो हुस्सु
सर्लाही, २६ पुस । सर्लाहीमा आज पनि बिहानैदेखि शितलहर चलेर बाक्लो हुस्सु लागिरहेको छ । घरबाहिर निस्कनु पर्नेहरु भिज्ने नै गरी बाहिर शितलहर चलिरहेको हो । यस क्षेत्रमा हिजो दिउँसोपख केही घण्टा पारिलो घाम लागेको थियो । तर, आज भने पुनः बाक्लो हुस्सु लागेर शितलहर चलिरहेको हो । यतिबेला कठ्यांग्रिदो चिसो हुँदा गरिबी गुरुवा परिवारका मानिस निकै प्रभावित भइरहेका छन् । चिसोले मजदुर तथा किसान अनि पशुपंक्षी कठ्यांग्रिएरहेका छन् । विगत १ सातादेखि यस क्षेत्रमा निकै कठ्यांग्रिदो चिसो भइरहेको हो । चिसो कम हुनै सकेको छैन् । यहाँका धेरैजसो विद्यालयहरुमा जाडो विदा भइसकेका छन् । विद्यालयहरुले परीक्षा लिएर पठनपाठन बन्द गरेका हुन् । बिहान–बेलुकाको शितलहर र हुस्सुले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुलाई अप्ठेरो पारिरहेको छ । बाक्लो हुस्सु लागेको बेला यात्रा गर्दा जोखिम हुने भएकाले सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई ट्राफिक प्रहरीले सचेत रहन आग्रह गरेको छ । त्यस्तै, चिसो गढ्दा स्वास्थ्यमा जटिलता आउने भएकाले ख्याल गर्न चिकित्सकहरुले बारम्बार सुझाव दिइरहेका छन् ।
