उपमेयरको श्रीमान कुटिएपछि कविलासीको नगरसभा स्थगित
- सदाम हुसैन
सर्लाही, २६ पुस । सर्लाहीको कविलासी नगरपालिकाको आठौँ नगरसभा अर्थात् हिउँदे अधिवेशन अनिश्चित समयसम्मका लागि स्थगित भएको छ । रामजानकी मठ सामुदायिक भवन अगर्वामा सोमबार नगरसभा राखिएको थियो । तर, आइतबार कार्यपालिका बैठकमै नगर उपप्रमुख पुनम कर्णका श्रीमान समेत रहेका कार्यपालिका सदस्य विनय कर्णमाथि कुटपीट भएको घटनाको विषयमा विवाद चर्किएसँगै नगरसभा स्थगित भएको हो । उपमेयरका श्रीमान कर्णमाथि आइतबार कार्यपालिका बैठकमै प्रवेश गरेर पूर्व उपपमेयर एवं गत वैशाखको निर्वाचनमा पनि उपमेयरका प्रत्यासी राधादेवीका श्रीमान राजनारायण रायले कुटपीट गरेको आरोप छ । सोही विषयले सोमबार नगरसभा उद्घाटन समारोहमा प्रवेश पाएको हो । नगरसभा प्रारम्भ गर्न खोज्दा हो–हल्ला हुन थालेपछि अनिश्चित समयसम्मका लागि नगरसभा स्थगित गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्ण, प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटासहित वडाध्यक्ष, नगरसभा सदस्यलगायत सबै जम्मा भएपश्चात सभा प्रारम्भ गर्न खोज्दा असहज स्थिति सिर्जना भएपछि सभा रोक्नु परेको हो । कविलासी नगरपालिकामा जनप्रतिनिधि र उनीहरुसँग जोडिएका पार्टीका नेताबीच पटक–पटक यस्ता घटना हुने गरेका छन् ।

