चमेलीमाई मन्दिर नजिक कारको ठक्करबाट एक वृद्धको मृत्यु, नवलपुर–मलंगवा सडक बन्द
सदाम हुसैन-
सर्लाही, ३१ जेठ । सर्लाहीको कविलासी नगरपालिकास्थित सलेमपुर चमेलीमाई मन्दिर नजिक आज (बुधबार) साँझ कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
कारको ठक्करबाट साइकलमा सवार सलेमपुरका ६५ वर्षीय सोनेलाल रायको घटनास्थलमै मृत्यु भएको हो । कार र कारका चालक इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा आइसकेका छन् । मृतकको शव घटनास्थमै छ । दुर्घटना लगत्तै स्थानीयले मृतकको शव सडकबाट उठाउन दिएका छैनन् ।
उनीहरुले नाराबाजीसहित चमेलीमाई मन्दिर नजिक चक्काजाम गरिरहेका छन् । घटनास्थलमा ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ठूलो संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पंजियार थारुले स्थानीयलाई सम्झाईबुझाई गरी मृतकको शव घटनास्थलबाट उठाउने प्रयास भइरहेको बताए । भीडभाड धेरै भएकाले घटनाको थप विवरण आउन बाँकी नै छ ।
सर्लाहीमा केहीदिनदेखि दिनहुँ सवारी दुर्घटना भई मानिसको मृत्यु भइरहेको छ । ३/४ दिनको अवधिमा सलेमपुरमै, लालबन्दीको जब्दी, ईश्वरपुरको खोरिया टोललगायतका स्थानमा भएको सवारी दुर्घटनामा मानिसले ज्यान गुमाएका छन् ।
दुर्घटना लगत्तै स्थानीयले चक्काजाम गर्ने परिपाटी पनि बढेको छ ।

