FEATUREDLatestNews

मलंगवामा लकडाउन पालना गराउन प्रहरीलाई हम्मेहम्मे,पसल चलाउने नयाँ शैलीः पसलभित्र आफै थुनिन्छन् पसले

मलंगवा,०६ जेठ । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउन पालना गराउन सर्लाही प्रशासनलाई यतिबेला हम्मेहम्मे परेको छ ।सरकारले घरमै रहेर लकडाउन सफल पार्न आह्वान गरेकोमा सदरमुकाम मलंगवा स्थित हटियामा खुद्रा व्यवसायीले पसल थाप्नुका साथै सर्वसाधारणको समेत चहल–पहल बढी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न प्रशासनलाई हम्मेहम्मे परेको हो । विहानैदेखि खुद्रा व्यवसायीहरुका साथै किराना लगायतका ठूला पसलहरु लुकीछिपी खुल्ने गरेको छ ।हटियाका साथै बजारमा मानव चहल–पहल बढेपछि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खुद्रा पसलहरु हटाउने क्रममा दैनिकजसो सामान्य विवाद हुने गरेको छ । आग्रहलाई नटेरेपछि प्रहरीले सर्वसाधारणमाथि लाठी चार्ज समेत गर्ने गरेका छन् । प्रहरी र खुद्रा व्यापारी बिच जुहारी चल्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । हटियामा मास्क, चुरा, लगायतका खुद्रा सामानहरु विक्री नगर्न चेतावनी दिए पनि व्यापारीहरु नमानेको भन्दै प्रहरीले उनीहरुका सामान समेत फाल्ने गरेका छन् । प्रहरीले लकडाउन पालना गर्नुपर्ने भन्दैआएका छन् भने खुद्रा व्यापारीहरुले भने दैनिक छाक टार्न समस्या रहेको पसल थाप्नुपरेको दावी गर्छन् ।दैनिकजसो डियुटीमा खटिने प्रहरी टोलीहरु मलंगवा नगरपालिकाको हटिया, चोक, मुख्य सडक लगायतका स्थानहरुमा अत्यधिक निगरानी गर्ने गरेका छन् । एक साता अघिसम्म लकडाउन पालना नभएको भनी व्यापक गुनासो आएपछि स्थानीय प्रशासनले कडाई गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । बजारमा मोबाइल, कपडा, ईलेक्ट्रोनिक्स, हार्डवेयर, टेलर्स, होटेल सहितका पसलहरु लुकिछिपी खुल्ने गरेको छ । पसल खुल्ला रहेको पाएपछि प्रहरीले बन्द गराउने क्रममा सामान्य लाठीचार्ज गर्ने गरेको छ । प्रहरी आएको थाहा पाएसँगै कतिपय पसलेहरु बन्द गर्ने गर्छन् भने कतिपय सटर झारेर पसलभित्रै छिर्ने गर्छन् । त्यस क्रममा प्रहरी थप आक्रोशित बन्ने गरेको छ । बजारमा प्रहरी टोली पसेपछि भागाभागको अवस्था हुने गरेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार प्रहरी निस्किने वितिक्कै पुनः पसलहरु खुल्ने गरेको छ । प्रहरीले यताबाट खेदेपछि अर्को गल्लीबाट भाग्ने र पुग्ने फेरी बजार तथा पसलहरुमा छिर्ने गर्छन् । सर्वसाधारण खेद्ने क्रममा प्रहरीहरु उत्तेजित हुँदै लाठीचार्ज गर्ने गरेको छ । मलंगवा बजार क्षेत्रमा प्रहरी सक्रियता बढाएपछि पसलेहरुले प्रहरीले थाहा नपाउने गरी नयाँ शैली अपनाउने गरेको छ । लामो लकडाउनले गर्दा पसल व्यवसाय बन्द भएका कारण उनीहरु विस्तारै नयाँ तरिकाबाट पसल चलाउने गरेका छन् ।अधिकांश पसलेहरुले आफ्नो पसलको सटर तथा ढोकामा मोबाइल नम्वर लेखेका हुन्छन् । कतिपयले पसल बन्द गरेर सम्पर्ककालागि नम्बर लेखेर टाँसेका छन् भने कतिपय पसलेहरु आफ्नै पसलमा थुनिएका हुन्छन् । ग्राहकले मोबाइलमा फोन गरेपछि आफु पसलभित्रै रहेकोले ग्राहकलाई नै सटर उठाउन भन्छन् । सटर उठेपछि ग्राहकलाई पनि पसलमै तानेर सामान बेच्ने गर्छन् । कतिपय पसलेलाई फोन गरेपछि भित्रबाट आएर ढोका खोलेर ग्राहकलाई भित्रै लग्ने गर्छन् । पुनः चुकुल लगाएर भित्रै सामान खरिद बिक्री हुन्छ । केही पसलवालाहरुले भने सटर अगाडि एक–दुई जनालाई आसपासमा प्रहरी आए नआएको तथा ग्राहकलाई तान्नका लागि खटाएका हुन्छन् । उनीहरुले सटरको ताला खोलेर ग्राहकलाई पस्न लगाई पुनः सटर झारेर ताल्चा हान्ने गर्छन् । यसरी मलंगवामा दैनिकजसो लुकिछिपी व्यापार भईरहेको छ । जसले गर्दा लकडाउनको अवज्ञा मात्र नभई कोरोना संक्रमणको खतरा समेत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *