News

गोडैतामा उद्योग वाणिज्य संघका अध्यक्ष मृत फेला

  • सदाम हुसैन

सर्लाही, ०४ चैत । सर्लाहीको गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र हजारी मृत फेला परेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने गोडैता बजारमा एल्बेस्टरको व्यापार गर्दै आएका हजारी शुक्रवार देखि बेपत्ता भएका थिए । हजारी शनिबार दिउँसो घरदेखि करिव तीन सयमिटर पूर्व–उत्तरतर्फ गोडैता नगरपालिका–८, मा रहेको लहरी बारीभित्र मृत फेला परेका हुन् । शनिबार दिउँसो घाँस काट्न गएका स्थानीयले हजराको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । ४५५० वर्षजतिका हजारीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीेले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । घोप्टो परेको अवस्थामा हजारीको शव फेला परेको हो । घटनास्थलमा बर्दिवासबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए । यो घटनापछि स्थानीयस्तरमा त्रास सिर्जना भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताए । नगरप्रमुख यादवले भारतीय सीमा क्षेत्र र भूगोल पनि ठूलो रहेको आफ्नो पालिकामा अपराध, दुर्घटनाजस्ता घटना अत्यधिक हुने गरेकाले प्रहरी चौकीमा सिमित प्रहरी हुँदा शान्ति, सुरक्षाको प्रत्याभूति हुन नसकेकाले प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय राखिदिन जिल्लास्थित सुरक्षा प्रमुखसँग बारम्बार माग गरे पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *