FEATUREDLatestNews

सकियो नेपाल–भारत परराष्ट्र सचिवस्तरीय छलफल,सीमा विवादले पाएन महत्व

काठमाडौं,११ मंसिर । एक वर्ष लामो संवादहीनतालाई तोड्दै नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा आज बिहीवार सम्पन्न भयो । बैठकका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज बिहीवार नेपाल आइपुगेका हुन् । नेपाल भारतबीचको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी भएका थिए । बैठकमा मन्त्रालयका सहसचिव सेवा लम्साल र यज्ञबहादुर हमालसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए। त्यस्तै, भारतका तर्फबाट श्रृङ्गला नेतृत्वमा भारतीय अधिकारीहरु सहभागी थिए। टोलीमा विदेश मन्त्रालयका उत्तर विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँ स्थित भारतीय दूतावासका कर्मचारी रहेका थिए । त्यसअघि परराष्ट्र सचिवद्वयबीच मन्त्रालयमा समेत भेट भएको थियो । भेटमा द्वीपक्षीय हितका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्ष दिन लामो संवादहीनतालाई तोड्दै बिहीवार द्वीपक्षीय छलफल भए पनि दुई देशबीच रहँदै आएको लामो समयको सीमा विवादको विषयमा भने निष्कर्षसहितको छलफल भएन । ’छलफलमा दुई देशबीचको आपसी हितको विषयमा कुरा भयो सीमा विवादको विषयमा त्यस्तो छलफल भएन् । सामान्य रुपमा विषय उठ्नु बाहेक अरु भएन,’ छलफलमा सहभागी एक अधिकारीले भने, ’लामो समयको संवादहीनता तोडिएको छ । अब बैठक बस्दै जालान् त्यस विषयमा पनि छलफल होला । बैठकका ऐजेन्डाहरु ब्यापक भए पनि त्यसमध्ये आर्थिक क्षेत्रको साझेदारी, सांस्कृतिक साझेदारी र पूर्वाधार विकासका क्षेत्रमा छलफल भएको बताए। उनले सीमा विवादका विषयमा भने केही भनेनन्।दुई देशबीचको छलफलमा सीमा विवादको समाधानका विषयमा ऐजेन्डा नराखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *