कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै सर्लाही, आजमात्रै १२० जनामा संक्रमण पुष्टी, योसँगै ३६९ पुगे
सर्लाही,२६ जेठ । प्रदेशको सर्लाही जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सर्लाहीमा आज मात्रै १२० जना कोरोना भाईरसका संक्रमित थपिएको पुष्टी भएको छ । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त जानकारी अनुसार सोमबार मात्र सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार आज पुष्टी भएकामा ब्रम्हपुरी गाउँपालिका ४३, विष्णु गाउँपालिका ३४, ईश्वरपुर नगरपालिका १८, चक्रघट्टा गाउँपालिका १५, बलरा नगरपालिका ९ र रामनगर गाउँपालिकाका १ जना रहेका छन् । थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए ।चक्रघट्टा गाउँपालिकामा आईतबार नै जनकपुरबाट १४ जना पोजेटिभ भन्ने खबर आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौबाट सोमबार १५ जनामा पोजेटिभ पुष्टी भएको खबर आएको हो ।‘तराईका अन्य जिल्लाभन्दा बढी सर्लाही जिल्लाबाट नै मानिसहरू रोजगारी, पेशा तथा अन्य कामका लागि भारतमा जानुभएको छ । भारतमा नै कोरोनाको संक्रमण उच्च भएको बेला ती व्यक्तिहरू ट्रक, ट्रयाक्टर र अन्य सवारीसाधनसहित पैदल पनि नेपाल आउनुभयो र संक्रमित हुनुभयो,’ सीडीओ जिसीले बताए । भारतबाट आएका व्यक्तिहरू घर नगई सिधै क्वारेन्टीनमा बसेका कारण स्थानीय समुदायमा संक्रमण नभएको उनले बताए । ‘जिल्लाबाट पठाइएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १५ दिनसम्म पनि होल्ड हुने गरेको छ,’ उनले भने, ‘समयमा रिपोर्ट नआउँदा पनि क्वारेन्टीन व्यवस्थापनमा समस्या हुने गरेको छ । सर्लाही जिल्लाभित्र बढी संक्रमण गोडैता नगरपालिकामा देखिएको छ । जेठ २५ गतेसम्म ७९ जनामा संक्रमण देखिएकोमा मलंगवा र जनकपुरको आइसोलेसनमा बसेका २५ जना उपचारपश्चात डिस्चार्ज भएर घर फर्किएका छन् । भारतको मुम्बई, दिल्ली, गुजरात लगायतका शहरमा काम गर्दै आएका मजदुर स्वदेश फर्किंदा कोरोना संक्रमित भएको गोडैता नगरपालिकाका प्रमुख देबेन्द्रकुमार यादव बताउँछन् । ‘क्वारेन्टीनमा बसेका ३७५ जना व्यक्तिको स्वाब परीक्षण गर्दा मात्रै ७९ जनामा पोजेटिभ आएको छ,’ प्रमुख यादवले भने, ‘५७ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।’ क्वारेन्टीनमा बसेका करीब १३० जनाको स्वाब संकलन गरिएको छैन ।प्रदेश र संघ सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको उनी बताउँछन् । ‘आफैंले स्वाब संकलनका लागि भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किनेर स्वाब संकलन गराएर परीक्षणका लागि टेकु पठाएका छौं,’ यादवले भने । भ्याटबाहेक ४९० रुपैयाँ प्रतिभीटीएम किनेको तथा स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई ल्याउन र लैजान एम्बुलेन्स पठाएको उनले बताए । ‘स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई २ हजार ५०० रुपैयाँ भत्ता समेत दिएँ,’ उनले भने ।भारतबाट आउने क्रम जारी नै रहेको र क्वारेन्टीनमा रहेका सबै व्यक्तिको स्वाब संकलन समेत हुन नसकेको प्रमुख यादवले बताए । ‘संघीय सरकारको स्वास्थ्य मन्त्रालयले क्वारेन्टीनमा बसेका व्यक्तिमा लक्षण नदेखिएको तथा १४ दिन बसिसकेको व्यक्तिलाई स्वाब संकलन नै नगरेर घर पठाउन निर्देशन सहितको परिपत्र पठाएको छ,’ प्रमुख यादवले भने, ‘संक्रमितको संख्या बढ्ने सम्भावना हुँदाहुँदै कसरी विना परीक्षण घर पठाउने भन्ने समस्या उत्पन्न भएको छ ।’