मलंगवामा विवाह पंचमीका अवसरमा सामूहिक विवाह कार्यक्रमको आयोजना हुने
सर्लाही,१६ कात्तिक । सर्लाहीको मलंगवा नगरपालिकामा विवाह पचंमीको अवसरमा सामूहिक विवाह कार्यक्रमको आयोजना हुने भएको छ । मलंगवा नगरपालिका ८ स्थित श्री सिताराम पोखरीमा स्थानीय युवाहरू र वडा नं २ का वडा अध्यक्ष धिरेन्द्र साहको उपस्थितिमा ‘मलंगवा नगर संरक्षण तथा सुधार समिति’ गठन गर्दै विभिन्न निर्णयहरु मध्ये आगामी मंसिर ९ गते परेको विवाह पंचमीका अवसरमा पोखरी परिसरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रमको आयोजना गरीने समितिले जनाएको छ । साथै समितिले हुलाकी राजमार्ग निर्माणको मागसहित अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।
नगरभित्रका विकासका मुद्दा, विशेषगरी हुलाकी राजमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीविरुद्ध जनदबाब सिर्जना गर्न समितिले बुधबार बिहान ७ बजेदेखि राजश्री चौकमा बन्दको कार्यक्रम राखेको छ । स्थानीयवासीहरूले युवाहरुको यो पहललाई स्वागत तथा प्रशंसा गर्दै नगर सुधार र हुलाकी राजमार्ग निर्माणको अभियानमा सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन् ।

