गर्मीमा मलंगवा वितरण केन्द्रबाट बत्ती काटिँदा सेवाग्राही मारमा
सदाम हुसैन–
सर्लाही, २२ जेठ । अत्यधिक गर्मीले छटपटी भइरहेका बेला विद्युत् अनियमित भइदिँदा सर्लाहीको मलङ्गवा वितरण केन्द्र अन्तर्गतका सेवाग्राही मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने गाउँका वासिन्दाले मनपरी ढङ्गले विद्युत् कटौती गर्दा गर्मीले थप छटपटी परेको गुनासो गरेका हुन् । हुलाकी सडकमा पर्ने बिजुलीको खम्बा (पोल) सार्न भन्दै मलङ्गवादेखि पूर्वी बेल्टमा बिहानैदेखि बत्ती छैन् । चर्को घाम र तापक्रम अत्यधिक गर्मी भएका बेला दिनभर बत्ती काटिँदा पङ्खाधरी चलाउँदा नपाएर अत्यधिक गर्मी सहनुपरेको हरिपूर्वा नगरपालिकाका स्थानीय मुकेश झाले बताए । उनका अनुसार हरिपूर्वा क्षेत्रमा बिहानैदेखि बत्ती नहुँदा बिजुलीबाट हुने काम ठप्प छ । मौसमविद्ले तराई क्षेत्रमा लु चलिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिइरहेका बेला बिजुलीको खम्बा सार्ने बहानामा दिनभर बत्ती काटिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । नीयवासी झाले आफूहरुको क्षेत्रमा अन्य बेला पनि बत्ती अनियमित हुने गरेको गुनासो गरे । जिल्लाको ग्रामीण क्षेत्रमा यसरी लामो समय बिजुली काटिँदा स्थानीय विद्युतीय उपकरण सञ्चालन गर्नबाट बञ्चित हुने गरेका छन् । रातको समयमा झन बढी विद्युत् अनियमित हुने गरेको छ । सुक्खा बढ्दा चापाकल बारम्बार सुक्ने गरेको र बत्ती नै नभएपछि मोटर चलाउन नपाएको गुनासो स्थानीयमा छ । देशभरका सबैभन्दा बढी विद्युत् चोरी हुने मलङ्गवा वितरण केन्द्र अन्तर्गतका प्रत्येक गाउँबाट सेवाग्राहीले यस किसिमको गुनासो गर्ने गरेका छन् । मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद महतोले हुलाकी सडकको पोल सार्न सोमबार बत्ती काटिए पनि अरु बेला जथाभावी लाइन नकाटिएको दावी गरे । यादवले बिहान ८ बजेदेखि काटिएको लाईन दिउँसो १ बजेपछि छाडिसकिएको दावी गरेपनि हामीले स्थानीय संचारकर्मी समेत रहेका हरिपूर्वाका मुकेश झासँग दिउँसो पौने ३ बजेतिर कुरा गर्दा त्यस क्षेत्रमा बत्ती छैन् ।
वितरण केन्द्र प्रमुख महतोले ट्रान्सफर्मरहरुको क्षमता कम रहेको र सेवाग्राही धेरै रहेकाले कहिँलेकाँही लोड थेग्न नसकेर बत्ती कट्ने गरेको उज्यालो अभियानसँग बताए । मलङ्गवादेखि पूर्वतर्फ हरिपूर्वामा र पश्चिमतर्फ गडहीया डुमरीयामा सवस्टेशन निर्माण गर्न चार वर्षदेखि प्रयास गरे पनि स्थानीयबाटै पोल गाड्न अवरोध हुँदा समस्या भइरहेको वितरण केन्द्रका प्रमुख यादवको भनाई छ । यि दुई ठाउँमा सवस्टेशन निर्माण नभएसम्म जिल्लाको दक्षिणी भेगका गाउँमा विद्युत्को अवस्था यस्तै रहने प्राधिकरणका प्राविधिकले बताएका छन् ।