कविलासीमा चार बिगाह जमीनमा सिँचाई सुविधा पुग्नेगरी ट्युबवेल जडान भएपछि किसान हर्षीत
ट्युबवेल जडान कार्यमा कुनै किसिमको अनियमिता नभएको मेयर कौशल किशोर यादवको दाबी
कविलासी,२९ असार । सर्लाहीको कबिलासी नगरपालिकामा चार बिगाह जमीनमा सिँचाई सुविधा पुग्नेगरी स्यालो ट्युबवेल जडान भएपछि स्थानीय किसान खुसी भएका छन् । बर्षैादेखी सिँचाइको समस्या झेल्दै आएका कविलासी नगरपालिकाका किसान स्यालो ट्युबवेल जडान भएपछि खुसी भएका हुनर । सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको निर्वाचन क्षेत्र विकास कोषको रकम र कविलासी नगरपालिकाको संयुक्त लगानीमा स्यालो ट्युबवेल जडान गरी प्रयोगमा ल्याइएको छ । किसानले सोही स्यालो ट्युबवेलबाट यस वर्ष धान रोपाइँ समेत गरिसकेका छन् । ट्युबवेल जडान भएपछि यो वर्ष सहज रुपमा रोपाइँ गर्न पाएको स्थानीय किसानले बताए । सिँचाई सुविधा भएपनि सरकारले मलखाद उपलब्ध नगराउँदा धान रोप्न समस्या भएको उनले गुनासो गरे ।बाग्मती सिँचाई आयोजनाको नहरबाट पानी नलाग्ने कविलासी नगरपालिकाको वडा नं. ८, ९ र १० मा पर्ने अगर्वा, कविलासी, सलेमपुर र भलुवाहा गाउँमा १०९ वटा ट्युबवेल जडान गरिसकिएको छ । एउटा स्यालो ट्युबवेलबाट चार विगाह जमिनमा सिँचाई सुविधा पुग्छ । तीनवटा वडामा १२१ वटा ट्युबवेल जडान गर्ने स्टिमेट रहेको कविलासी नगरपालिका कार्यालयले जनाएको छ ।सांसद यादवको निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र नगरपालिकाको करिव ४३ लाख रुपैयाँ लागतमा किसानलाई सहज रुपमा सिँचाई सुविधा उपलब्ध गराउन स्यालो ट्युबवेल जडान गरिएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले जानकारी दिए । ट्युबवेल जडान गर्न किसानहरुबाट रकम असुल गरेको गुनासो समेत आएको छ । तर मेयर यादवले भने ट्युबवेलको दीर्घकालिन टिकाउका लागि गिट्टी हाल्नका लागि मात्रै जनसहभागिता अन्तर्गत किसान आफैले राजीखुसी थोरै रकम उठाएर आवश्यकता अनुसार गिट्टी हालेका दावी गरेका छन् ।मेयर यादवले ट्युबवेल जडान गर्ने उपभोक्ता समितिलाई अहिलेसम्म भुक्तानि समेत नगरिएको र लागेको सम्पूर्ण खर्च उपभोक्ता समितिले नै बेहोरेका कारण कुनै किसिमको अनियमिता नभएको बताए । अनियमिताको आरोप लागेपछि मेयर यादवले आइतवार पत्रकारहरुलाई जडित स्यालो ट्युबवेलको अनुगमन नै गराएका छन् ।