साहलाई नियन्त्रणमा लिन आएको टोली भारतीय सुरक्षाकर्मी भएको खुलासा
सर्लाही, २५ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजारमा शनिबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएको टोली भारतीय प्रहरी भएको सुरक्षा स्रोतले जनाएको छ । नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका-१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रण प्रयास भएको थियो । साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटको स्कर्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले अपरहरण शैलीमा साहलाई लिन आएको टोली मध्ये एक जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिन सफल भएका छन् । ती प्रहरीलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले माथिल्लो लेबलबाटै अनुसन्धान एवं कुराकानी भईरहेको जानकारी दिए । भारतको पटना स्थित एसएस ज्वेलर्समा २०७८ माघ ७ गते ३५ किलो सुन र १२ लाख भारतीय रुपैया लुटपाट भएको घटनाको अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले पटक(पटक सर्लाहीका विभिन्न व्यक्तिहरु उपर नियन्त्रण लिने प्रयास गरिरहेको छ । यसअघि वैशाखमा लालबन्दी-२ पुनर्वास निवासी सुन्दर पासवानलाई तथा साताअघि जंगली पासवानलाई पनि भारतीय प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएर गएर मुद्दा चलाईसकेको छ । साहलाई भने के विषयमा भारतीय प्रहरीले नियन्त्रणमा लिन खोजेको हो, त्यो भने खुल्न सकेको छैन । सोमबार बिहान स्थानीय व्यापारीले घटनाको विरोधमा नवलपुर स्थित पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । नेपाल र भारतबीच सुपुर्दुर्गी सन्धी नभएकाले सम्बन्धित देशका सुरक्षाकर्मीले नै नियन्त्रणमा लिएर अर्को देशका सुरक्षाकर्मीलाई बुझाउन नमिल्ने हुँदा नेपालतर्फका सुरक्षाकर्मीले पनि पटक-पटक भारतीय भूमीबाट विभिन्न मुद्दाका आरोपीलाई नियन्त्रणमा लिएर नेपालतर्फ लिएर आउने गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
