News

सागरनाथ वन विकास परियोजनाका कर्मचारीले तलब नपाएपछि कर्मचारीले नै लगाए ताला

सदाम हुसैन-

नौ महिनादेखि तलब नपाएको भन्दै सागरनाथ वन विकास परियोजनाका कर्मचारीले सोमबारबाट कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

परियोजनामा कार्यरत १७० जना कर्मचारीले गएको भदौदेखि तलब पाउन सकेका छैनन् । यसरी लामो सयमदेखि तलब नपाउँदा घर व्यवहार धान्नै मुस्किल परेको भन्दै कर्मचारीले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित परियोजनाको मुख्य कार्यालयमा सोमबार बिहानबाट तालाबन्दी गरी कामकाज ठप्प पारेका हुन् । वि.सं. २०३५ सालमा स्थापना भएको यो परियोजनाको सर्लाही, महोत्तरी र रौतहटमा गरी १३ हजार ५१२ हेक्टर वन क्षेत्र पर्छ । वनकर्मीको अध्ययन गर्ने थलो, देशकै सबैभन्दा ठूलो वृक्षरोपण भएको र सरकारलाई देशभरमै धेरै राजस्व सङ्कलन गरेर बुझाउने कार्यालयकै कर्मचारी नौ महिनादेखि तलबविहीन भइ काम गर्न बाध्य भएपछि उनीहरुले आन्दोलन सुरु गरेका हुन् । यो परियोजना केही वर्ष यता आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । भदौदेखि तलब नपाउँदा परियोजनामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारी गरी १७० जनाको घर व्यवहार प्रभावित बनेको परियोजनामा कार्यरत कर्मचारी छत्र लामाले गुनासो गरेका छन् । परियोजना सङ्घीय सरकार वा प्रदेश सरकार को मातहत रहने ? भन्ने विवाद समाधान हुन सकेको छैन् । कर्मचारीले तलब माग गर्दै आन्दोलन सुरु गरेपछि जङ्गलको सुरक्षा गर्न र अतिक्रमण नियन्त्रण गर्न चूनौति थपिएको परियोजनाका एक कर्मचारीले बताए । परियोजनाले यो वर्ष काठ बिक्रीका लागि पटक–पटक सूचना निकाले पनि ठेक्का सकार भएको छैन् । काठ बिक्री नभएको र वन तथा वातावरण मन्त्रालयले समेत परियोजनाप्रति खासै चासो नदेखाउँदा यो अवस्था आएको परियोजना प्रमुख रामकिशोर यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *