FEATUREDLatestNews

सर्लाहीमा शीतलहरले जनजीवन कष्टकर बन्दै

सर्लाही,०४ पुष । सर्लाहीमा दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको हो । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् । दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वासाधारणलाई धोएका लुगा सुकाउन समेत समस्या भएको छ । लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या जिल्लाकै स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । जाडो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *