सर्लाहीमा आगलागीबाट दुईवटा घर जल्यो
सदाम हुसैन
सर्लाही २७ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी गैरी गाउँमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट गैरी गाउँका शुभकरण साह र छिमेकी सरोज बैठा तथा उनकै भाई मनोज बैठाको सङ्गोलमा रहेको घर जलेर खरानी भएको हो । प्रहरीका अनुसार आगलागीबाट शुभकरणको माथि टिनको छानो भएको भुइतले घर तथा घरभित्र रहेका नगद, कपडा, अन्नसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । घर जलेपछि आठ जना परिवार सदस्य रहेको शुभकरणको परिवार विस्थापित भएको छरछिमेकीले बताएका छन् । यस्तै, सरोज बैठा र भाई मनोज बैठाको सङ्गोलको टिनको छानो भएको भुइतले घर तथा घरभित्रका सरसामग्री सम्पूर्ण जलेर नष्ट हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बैठा दाजुभाईको भने बस्नका लागि अर्को पक्की घर समेत रहेकाले तत्कालै उनीहरु विस्थापित भएका छैनन् । आगलागी गाउँले, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा आएको छ । सर्लाहीमा तीन दिनको अवधिमा बलरा, धनकौल, बरहथवा र लालबन्दीमा गरी आगलागीबाट पाँच वटा घर जलेका छन् । गर्मी र सुक्खापन बढ्दै जाँदा यहाँ आगलागीका घटना बढेर जनधनको क्षति भइरहेको छ ।