मलंगवासहित आसपासको क्षेत्रमा सामान्य वर्षा
सदाम हुसैन
सर्लाही, ०५ असार । सर्लाहीको मलंगवासहित आसपासका क्षेत्रमा आज दिउँसो वर्षा भएको छ । दिउँसो १ बजेतिर मौसम अचानक बदली भएर सदरमुकाम मलंगवा र यस आसपासका क्षेत्रमा पानी परेको हो । मलंगवामा केहीबर सामान्य रुपमा पानी छिट्याएको स्थानीयले बताएका छन् । यहाँ मौसम बद्ली भई बेलाबेलामा धाम्मधुम्म भइरहेकाले स्थानीयवासीले अब भने पर्याप्त वर्षा हुने आशमा बसिरहेका छन् । पानी नपर्दा चप्पा कल, पोखरी, बिउबिजन, मकै, तरकारीलगायतका बालीनाली सुकेर गइरहेका छन् । किसानले राखेको धानको ब्याड नउम्रिएर त्यसै नाश भएको छ । कतिपय किसानले धानको ब्याड राख्न नपाएर ढिलो भइसकेको बताएका छन् । जेठमा आएर गएको खडेरी र चर्को घामले सबैभन्दा मार किसानलाई परेको छ । मंगलबारदेखि मौसममा सामान्य बदली आई बेलाबेलामा हावा चल्ने र गर्मी कम हुँदा आम मानिसको दैनिकी केही सहज बन्न थालेको छ ।