मलंगवाबाट स्रोत नखुलेको रकमसहित पाँचजना पक्राउ
सदाम हुसैन–
सर्लाही, १९ जेठ । सर्लाहीको सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सदरमुकाम मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकल शंका लागेपछि गोरखकाली प्रहरी चौकी अगाडि चेकजाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध रकमसहित पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगरपालिका१ घर भई मलंगवाको बाबा अटो सर्भिसमा काम गर्ने ३१ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ । उनीहरुको साथबाट बरामद गरिएको रकमको स्रोत देखाउन सकेका छैनन् । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जानकारी दिए ।