आज मलंगवामा ८२ जना कोरोना संक्रमित थपिए
सर्लाहीमा संक्रमितको सख्यां १९ सय ९४ जना पुग्यो
मलंगवा,२७ भदौ । सर्लाहीको मलंगवा नगरपालिकामा आज (शनिबार) थप ८२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।मलंगवा नगरपालिकाबाट केही दिनअघि पठाईएको २५१ जनाको थ्रोट स्वाब मध्ये १३० जनाको रिपोर्ट आउँदा ८२ जना संक्रमित देखिएका हुन् । बाँकी १२१ जनाको थ्रोट स्वाबको परीक्षण रिपोर्ट पनि भोली (आईतबार) सम्ममा आउने बताईएको छ ।मलंगवा नगरपालिका नगर स्वास्थ्य केन्द्र, मलंगवाका इन्चार्ज सञ्जय यादवका अनुसार अधिकांश संक्रमित सर्वसाधारण हुन् । अधिकांश सर्वसाधारण संक्रमित देखिनुले सदरमुकाम मलंगवामा समुदाय स्तरमै व्यापक मात्रामा कोरोना भाईरसको संक्रमण फैलिसकेको पुष्टी भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाका अनुसार हालसम्म सर्लाहीमा एक हजार ९० जना कोरोना संक्रमित निको भईसकेका छन् । ४ जना सकृय संक्रमितको अवस्था गम्भिर भएकाले जिल्ला बाहिर उपचार चलिरहेको र बाँकी संक्रमित होम आईसोलेसनमा रहेका झाले जानकारी दिए । सर्लाहीमा हालसम्म कोरोना भाईरस संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।