टि–ट्वन्टी क्रिकेट ः दोस्रो दिनको खेलमा पर्सा क्रिकेट टिम ४ रनले विजयी
फागुन, २६ गते । सर्लाही सदरमुकाम मलंगवामा आयोजित टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्सा क्रिकेट टिम ४ रनले विजयी बनेको छ । दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा १० ले तीनबिघे मैदानमा अयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्सा क्रिकेट टिमले हरिपूर्वा क्रिकेट टिमलाई ४ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको पर्सा क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमै सबै विकेट गुमाउँदै १ सय ३७ रन बनाएका थिए । पर्साका लागि संजील दासले सर्वाधिक २७ रन बनाएका थिए । हरिपूर्वाका लागि कृष्णा यादवले सर्बाधिक ३ विकेट लिएका थिए । १ सय ३८ रनको लक्ष्य पाएका हरिपूर्वाले सुरुवातदेखि नै राम्रो खेल खेल्न सकेका थिएनन् । पर्साको बलरका सामु हरिपूर्वाका खेलाडी निरिह देखिएका थिए । हरिपूर्वा १९ औं ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएका थिए । हरिपूर्वाका लागि रंजित यादवले सर्बाधिक १८ रन बनाएका थिए । हरिपूर्वालाई १ सय ३३ रनमै सिमित राख्ने क्रममा पर्साका संजय यादवले ३ विकेट हात पारेका थिए ।खेलको म्यान अफ द म्याच पर्साका कमलेश यादवलाई प्रदान गरिएको छ । यादवले १८ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।बिहीवार महाशिवरात्री भएकाले खेल नहुने आयोजक समितिका कोषाध्यक्ष साजन जयसवालले जानकारी दिएका छन् । शुक्रवारको खेल पर्सा संग्रमपुर बिरुद्ध गढीमाई जमुनियाको बिच हुने कोषाध्यक्ष जयसवालले जानकारी दिएका छन् ।