मलंगवामा साताका तीन दिन खाद्यान्न तथा किराना पसल खोल्ने सहमति
मलंगवा,२३ जेठ । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासन र व्यापारीबीच साताका तीन दिन खाद्यान्न तथा किराना पसल खोल्ने सहमति भएको छ । शुक्रबार बिहान व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले आईतवार,सोमबर र मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म पसल खोल्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
त्यस्तै साताका तीन दिन बुधवार,बिहीवार र शुक्रवार तरकारी बजार पनि खोल्ने सहमति भएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । साथै नगरस्थितका बैक तथा वितीय संस्थाहरु प्रत्येक दिन खुल्ला रहने सभापति चौधरीले बताए । खाद्यान्न, तरकारी, फलफूल, दूधसहित अत्यावश्यक सामानको पसल खुला नै थियो, अन्य पसल पनि लुकेर सञ्चालन भइरहेको थियो,‘प्रहरीलाई आएपछि बन्द गर्ने र गएपछि आधा सटर खोलेर पसल सञ्चालन गर्दै आएको अवस्थामा पसल खोल्न दिने सहमति भएपछि स्थानीय लगायत ब्यापारीवर्गमा खुशीयाली छाएको छ । मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साहले ग्राहकहरुबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए ।