FEATUREDLatestNews

महोत्तरीको एउटै टोलमा ११ जनाको मृत्यु, कारण अझै खुल्न सकेन

महोत्तरी,२० वैशाख । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताए ।मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण होरहोइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । ‘मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पीसीआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।’थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *