जयगंगा सहकारी हरिपूर्वाको भवन उद्घाटन
- सदाम हुसैन
सर्लाही, १२ फागुन । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । सहकारीको भर्खरै निर्माण सम्पन्न भएको भवनको हरिपूर्वाका मेयर विनोद साह तेलीले उद्घाटन गरेका हुन् । २०६६ सालमा स्थापना भएको यो सहकारीले अहिले अनलाईन सहकारीको रुपमा परिचय बनाएको छ । नयाँ भवन उद्घाटन तथा १४ औँ वार्षिक साधारण सभामा संस्थाका प्रवन्धक मुकेश झाले गत आर्थिक वर्ष २०७८/०७९ को आय–व्यय प्रस्तुत गर्दै संस्थाले ४ लाख ५७ हजार ५०८ रुपैयाँ नाफा आर्जन गरेको जानकारी गराए । सहकारीका अध्यक्ष गणेशकुमार यादवको अध्यक्षता तथा मेयर विनोद साह तेलीको प्रमुख आतिथ्यतामा आयोजित सहकारीको भवन उद्घाटन समारोहमा हरिपूर्वा १ का वडाध्यक्ष श्यामबाबु राय, ६ का वडाध्यक्ष रामसोगारथ राय, ७ का वडाध्यक्ष उमेश राय, वडा नं। ४ का पूर्व वडाध्यक्ष नागेश्वर राय, समाजसेवी नरेन्द्र रायलगायतको आतिथ्यता रहेको थियो ।

