News

कौडेनामा १५ बेडको अस्पताल बन्दै

  • सदाम हुसैन
    सर्लाही, १२ फागुन । सर्लाहीको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिकामा १५ शैय्याको सामुदायिक अस्पताल निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ ।कौडेना गाउँपालिकाले वडा नं. २ फूलपरासीमा अस्पताल निर्माण गरिरहेको हो । अस्पतालको पहिलो तलाको शुक्रबार ढलान कार्य सम्पन्न गरिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) ले जानकारी दिए । स्थानीय वासिन्दालाई सामान्य बिरामी पर्दा समेत वीरगञ्ज वा जनकपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले गाउँपालिकामै १५ बेडको अस्पताल निर्माण गरिरहेको अध्यक्ष यादवको भनाई छ । “यहाँका मानिसलाई सामान्य ज्वरो आउँदा वा पखाला लाग्दा पनि वीरगञ्ज, जनकपुर कुध्नुपर्ने बाध्यता छ, सदरमुकाम मलंगवाको सरकारी अस्पताल पनि गतिलो छैन्,” गाउँपालिका अध्यक्ष यादवले भने, “सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका आफैले अस्पताल निर्माण गरिरहेको हो ।” गाउँपालिका अध्यक्ष यादवले आगामी जेठसम्ममा निर्माण कार्य सकेर अस्पतालको उद्घाटन गर्ने गरी काम भइरहेको बताए । सर्लाही सदरमुकाम मलंगवाबाट पश्चिमतर्फ पूर्व–पश्चिम हुलाकी सडकमा कुनै अस्पताल छैनन् । निर्वाचनका बेला आफूले दुई वर्षभित्र गाउँपालिकाभित्रै सुविधासम्पन्न अस्पताल निर्माण गरी आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएअनुसार अस्पताल निर्माण गरेको गाउँपालिका अध्यक्ष यादवको भनाई छ । उनका अनुसार अस्पताल निर्माण हुनासाथ विशेषज्ञ चिकित्सक राखेर औषधि उपचार सूरु गर्ने तयारी छ । जिल्लाको दक्षिण–पश्चिम भेग बलरादेखिका बिरामी औषधि उपचारका लागि सदरमुकाम मलङ्गवा वा भारतीय बजारसम्म पुग्नुपर्ने बाध्यता छ । कौडेनामै अस्पताल निर्माण भएपछि कौडेनासहित पश्चिमी भेगका गोडैता नगरपालिका, विष्णु गाउँपालिका, रामनगर गाउँपालिकालगायत छेउछाउका अरु पालिकाका वासिन्दा समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले दुई करोड रुपैयाँको लागतमा सामुदायिक अस्पतालको भवन निर्माण भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *