प्रचण्ड–नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते
गाउँपालिका घर खाली नगरेर सुनीयोजित तरीकाले आक्रमण गरेको –अध्यक्ष बिक्रम यादव
सर्लाही,२६ पुस । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बजारको सेड खाली गराउने विषयमा दोहरो झडप भएको छ । गाउँपालिकाको नजिकै रहेको बजारको सेड खाली गराउन गाउँपालिकाले बेरबेर ताकेता गर्दा पनि व्यापारीले नमानेपछि झडप भएको हो । झडपमा परी ७ जना घाईते समेत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको हो । लेथ मेशीन संचालक साहलाई गाउँपालिका अध्यक्ष बिक्रम यादवले पटक पटक बजार समितिको जस्ता भएको घरमा लेथ मेशिन हटाउन भनेको थियो । तर लेथ मेशिन संचालक साहले गाउँपालिका घर खाली नगरेपछि नेकपा पक्षको केहि व्यक्तिले लेथ संचालक साहलाई घर खाली गर्न भनेपछी दुबै पक्ष बिच झडप भएको स्थानियले बताएका छन् । दुई पक्षबीच भएको झडपमा परी ७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नं. २ बस्ने ३६ वर्षीय दिनेश राय, ३३ रंजित यादव, २८ वर्षीय संतोष यादव, वडा नं. ९ खोरिया बस्ने २० वर्षीय धिरेन्द्र यादव, २० वर्षीय पप्पु यादव, वाडा नं. ७ सगरदिना बस्ने ३३ वर्षीय नविन कुमार यादव रहेका छन् । सेड खाली गराउने बहानामा राजनीतिक रिसिबिले गाउँपालिका कार्यालयमा सुनियोजित तवरले आक्रमण गरेको गाउँपालिका अध्यक्ष बिक्रम यादवले बताएका छन् । बुबा समान रहेको साहलाई कुनै अभद्र व्यवहार आफुले नगरेको अध्यक्ष यादवको दाबी रहेको छ । सेडमा अस्पताल बनाउनु पर्ने भएकोले खाली गर्न आग्रह गरेका थियौ । तर पटक पटकको आग्रहलाई उहाँले टार्दै आउनु भएको थियो । ‘पत्र पनि पठाएका थियौं’, अध्यक्ष रायले भने,‘पत्रको कुनै सुनवाई नगरी बेवास्ता गर्दै आउनु भएको थियो। तर, काँग्रेसीहरुले पार्टीको संघर्ष समिति गठन गर्नका लागि बोलाईएको भेलामा अचानक आक्रमण गरेको रायले बताएका छन् । यतासेड खाली गराउने कुनै निर्णय नै नगरी राजनितिक रिसिबिका कारण गाउँपालिका अध्यक्ष आफुलाई विस्थापित गर्न खोजेको साहको छोरा ठगा भनेर चिनिने रबि साहले बताएका छन् । बिहीवार अचानक बुबालाई गाउँपालिकामा बोलाएर अध्यक्ष बिक्रम रायले अभद्र व्यवहार गरेको रबिको आरोप रहेको छ । आइतवार बिहान आफु गाउँपालिका कार्यालयमा गएर बुबालाई किन गाली गलौज गरेको भन्दा बुबा एक्लै भएको मौका छोपी कुटपिट गरेको उनको आरोप रहेको छ । अध्यक्षले पार्टीको केही व्यक्तिलाई पठाई बुबालाई रड र मुक्का प्रहार गर्न लगाई गम्भिर घाईते बनाएको दाबी रबिको रहेको छ । घाइते ६ जनाकै अवस्था समान्य रहेको र उनीहरुको उपचार जिल्ला अस्पताल मलंगवामा भैरहेको प्रहरीले जनाएको छ । लेथ मेशीन संचालक साह पक्षबाट करिब ५ सय आएको गाउँलेहरुले गाउँपालिकाको ना १ झ १७०० नम्बरको स्कार्पियो जीप तथा केहि मोटरसाईकल र कार्यालयमा समेत तोडफोड गरी आवश्यक कागजात लगायत अनेकौं क्षति पुरयाएको गाँउपालिकाका अध्यक्ष बिक्रम यादवले बताए । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जानकारी दिए ।

