सर्लाहीमा अब सातामा ३ दिन ३ घण्टाका लागि मात्र खाद्यान्न र तरकारी पसल खोलिने
सर्लाही,३२ साउन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन लागि अझ प्रभावकारी बनाउन (डीसीसीएमसी) को आइतवार सदरमुकाम मलंगवामा बसेको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि पुनः निषेधाज्ञा आदेश जारी गरेको छ । बैठकले हप्तामा तीन दिन मात्र खाद्यान्न र तरकारी पसल खोल्ने निर्णय गरेका छन् । अबदेखि सोमबार, बुधबार र शुक्रबार मात्र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । जिल्लामा विभिन्न बजारहरुमा भिडभाड बढी हुने र संक्रमितको संख्या पनि बढ्दै गएपछि थप सुरक्षा सतर्कता बढाउनका लागि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समिति सभापति मेथुर चौधरीले जानकारी दिएका छन्।
यसैगरी स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु पनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । छिमेकी मित्र राष्ट्रबाट हुने सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गर्ने र सीमा नाका पूर्ण रुपमा सिल हुने डीसीसीएमसीको बैठकमा निर्णय भएको छ ।सर्लाहीमा सनिवारसम्म ९६२ जना ब्यक्तिमा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ भने एकजना महिलाको मृत्यु भएको छ ।

