News

हुलाक टिकट जिल्ला प्रशासन परिसर भित्रै पाउने

सदाम हुसैन
सर्लाही ०४ फागुन । हुलाक टिकटमा धरी सेवाग्राही ठगिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय परिसरभित्रै हुलाक काउन्टर राखेको छ । जिल्ला हुलाक कार्यालयसँग समन्वय गरी सीडीओ कार्यालय परिसरमै हुलाक काउन्टर सञ्चालनमा ल्याइएको हो । उक्त हुलाक काउन्टरबाट सेवाग्राहीले सरल मूल्यमा हुलाक टिकट खरिद गर्न सक्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिए । हुलाक टिकट बिक्रीकै लागि जिल्ला हुलाक कार्यालयले काउन्टरमा एक जना कर्मचारी खटाएको छ । जिल्ला प्रशासन कार्यालयमा विभिन्न सिफारिस, नागरिकता, राहदानीलगायतको काम लिएर आउने सेवाग्राहीले १० रुपियाँको हुलाक टिकटलाई बाहिरका पसलमा २५ रुपियाँसम्म लिने गरेको गुनासो व्यापक मात्रामा आएपछि जिल्ला प्रशासन कार्यालयमै हुलाक काउण्टर राखिएको प्रशासकीय अधिकृत थापाले बताए । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै कार्यालय बाहिर हुलाक टिकट बिक्री भइरहेको पाइएकाले त्यसरी अनाधिकृतरुपमा हुलाक टिकट बिक्री वितरण नगर्न भनेको छ । सूचना विपरीत हुलाक टिकट बिक्री गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा भने कार्यालय बाहिरकै पसलबाट खुलेयाम हुलाक टिकट बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *