GeneralNews

हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन

  • सदाम हुसैन
    सर्लाही, ०३ फागुन । सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, खसी बजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । उर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा विद्युतीय सवारी सञ्चालन गर्ने सवारीधनी लाभान्वित भएका छन् । चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक शिव अधिकारीका अनुसार चार्जिङ स्टेशनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन् । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने अधिकारीले बताए । दुईवटा चार्जिङ स्टेशनबाट एक पटकमा छवटा सवारी चार्ज गर्न मिल्छ । चार्जिङ स्टेशनमा २०० केभीएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जिवकुमार साहले बताए । चार्जिङ स्टेशनमा सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । मानवरहीत चार्जिङ स्टेशनमा सेवाग्राहीले सोझै अनलाइनबाट भुक्तानी गर्ने र कुनै प्राविधिक समस्या आए आफूहरुले काठमाडौँबाटै अनलाइनमार्फत नै मर्मतको काम गर्ने चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक अधिकारीले बताए । उनका अनुसार ग्राहकले अनलाइनमार्फत बुझाएको पैसा सोझै नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा हुन्छ । चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क समेत निर्धारण गरेको छ । साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिक आवरमा प्रतियुनिट १० रुपियाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म छ रुपियाँ ६० पैसा र बाँकी समयमा चार्ज गर्दा प्रतियुनिट आठ रुपियाँ २८ पैसा शुल्क निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *