सर्लाहीमा बालगृहका बालबालिकालाई पत्रकार झाले लगाइन् दशैंको टिका
सर्लाहीको मलंगवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई दशैंको अवसरमा टिका–जमरा लगाइ आशीर्वाद दिइएको छ। मिडिया काउन्सिल मधेश प्रदेश सदस्य तथा पत्रकार बन्दना झाले बिहीबार आयोजित कार्यक्रममा १४ जना बालबालिकालाई उज्ज्वल भविष्यको कामना गर्दै टिका–जमरा लगाइदिएकी हुन्। टिका, जमरा र दक्षिणा पाएपछि बालबालिकाहरु निकै उत्साहित देखिएका थिए। कार्यक्रममा संगठनका सभापति शमिमबाबु खानसहितका पदाधिकारी र पत्रकारहरुको पनि उपस्थिति थियो। काउन्सिल सदस्य झाले नै सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक्रममा उनले चाडपर्वका बेला बालबालिकाले अभिभावकको कमी महसुस नगर्नून् भन्ने उद्देश्यले यस्तो पहल गरिएको बताइन्। संगठनका सभापति खानका अनुसार बालगृहमा बसोबास गरिरहेका बालबालिका जिल्लाभित्र तथा बाहिरका नाम चलेका शिक्षण संस्थामा अध्ययनरत छन् भने केही विभिन्न निकायमा कार्यरतसमेत रहेका छन्।

