सर्लाहीमा जिप्रकाको कर्मचारीले निःशुल्क ठाडो उजुरी लेखिदिने
- सदाम हुसैन
सर्लाही, ०७ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफ्नै कर्मचारीले नै निःशुल्क रुपमा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिहरुबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको निर्देशनमा कर्मचारीबाटै बिना पैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । बाहिर लेखापढी गर्नेहरुसँग उजुरी लेखाउँदा पाँच सय र हजार लिँदै आएका थिए । यस्तै, ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लिखिदिन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी यादवले सर्लाहीमा हाजिर भएपश्चात सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाहका लागि विभिन्न प्रयास गर्दै आइरहेका छन् । कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवादको उजुरी, गाउँघरमा साँध सिमाना च्यापिएको उजुरी, कसैले गालिगलौच गरेकोविरुद्धको उजुरीसहित अन्य प्रकारका उजुरी दिन जाने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने भएको छ । सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ । मंगलबार पहिलो दिन नै कार्यालयबाट मधेसी प्रमाणितको १६ वटा, ठाडो उजुरी ५ वटा र अन्य सिफारिस ५ वटा निःशुल्क लेखाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

