सर्लाहीका कार्यालयहरुमा नियमित कार्यालय अनुगमन हुने
- सदाम हुसैन
सर्लाही, ०७ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लास्थित कार्यालयहरुको नियमित अनुगमन गर्ने भएको छ । सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले सहज, सरल, छिटोछरितोरुपमा सेवा प्रवाह एवं नागरिकको गुनासोलाई मध्यनजर गर्दै जिल्ला जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा कार्यालय अनुगमन गर्ने निर्णय गरेको हो । जिल्लामा मालपोत, नापीलगायत कार्यालयबाट सेवाग्राहीलाई सेवा लिन असाध्य गाह्रो छ भने काम गराउन अतिरिक्त रकम (घुस) दिनुपरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । यि गुनासो चिर्न प्रजिअ यादवको सक्रियतामा कार्यालयहरुको छड्के अनुगमन गरिने भएको हो । यस्तै, कार्यालय प्रमुखको बैठकले कालाबजारी, बढी मूल्य, अखाद्य वस्तुको मिसावटलगायत उपभोक्ता हितविपरीतका कार्यहरु नियन्त्रण एवं कानूनी दायरामा ल्याउन स्थानीय तहबाट प्रभावकारी रुपमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने, सवारी दुर्घटना न्यूनिकरणका लागि सीसीटिभी जडान, सडक मर्मत गर्नुका साथै यात्रु प्रतिक्षालय व्यवस्थित बनाउने लगायत निर्णय गरेको छ ।