सर्लाहीका उखु किसान फेरी ठगिए
सर्लाही,०६ मङ्सिर । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल पश्चिमबाट यसपटक पनि उखु किसान ठगिएका छन् । उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको पैसा माग्न काठमाडौँ पुगदा पनि उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धक र अरू जिम्मेवार कर्मचारीले छठअघि केही रकम किसानको खातामा पठाउने भाका आश्वासनमै सिमीत भएका छन् । आजसम्म किसानको खातामा एक रुपियाँ पनि जम्मा भएको छैन ।काठमाडौँमा राष्ट्रपति, उद्योगमन्त्री र पैसा दिन आलटाल गरिरहेको उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक साताअघि घर फर्किनुभएका धनकौल गाउँपालिका–२ का किसान रामकल्याण यादवले यसपटकको छठमा समेत चिनी मिलले धोका दिएर किसानलाई निराश पार्ने काम भएको गुनासो गर्नुभयो । किसानको आम्दानीको एक मात्रै स्रोत, नगदे बाली उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको दुःखेसो छ । उहाँले भन्नुभयो, “छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो । ”गत वर्ष सञ्चालनमै आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले तीन÷चार वर्षअघि नै किसानबाट किनेको उखुको पैसा दिएको छैन । भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैंसम्म रुवाइरहेका मैनालीको भनाइ छ ।उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले ३० करोड रुपियाँ र महालक्ष्मीले छ करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको पैसा हात नलाग्दा सर्लाहीको दक्षिणी भेगका किसान निराश भएका छन् । किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ ।