मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू
मलंगवा,०३ असोज । सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार दिउँसो १ः३० बजेदेखि कर्फ्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका थिए ।शुक्रबार रातिदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । दुई समुदायका मानिस भेला भएर वादविवाद गर्न थालेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए । दुई समुदायबीच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो। शनिबार बिहानदेखि अवस्था फेरि तनाव पूर्ण बनेपछि प्रशासनले कर्फ्यू लगाएको छ । मूर्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।कफ्र्यु जारी भएसँगै प्रहरीले अहिले मलङ्गवा बजारक्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् भने स्थानीयहरुलाई घरमै बस्न माइकिङ भइरहेको छ ।

