मलंगवामा जनस्तरबाट लकडाउन उल्लङ्घन, सुरक्षाकर्मी मुकदर्शक
मलंगवा,२७ वैशाख । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन सर्लाही सदरमुकाम मलंगवामा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । सर्लाही सदरमुकाम मलंगवामा बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि शुक्रबारदेखी खुलेआम रुपमा पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।लकडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको देखिएको छ ।“लकडाउनको पूर्णपालना गराउन प्रहरी कठोर बन्नुपर्ने अवस्थामा मलंगवा बजारमा भिड देखिनु सङ्क्रमणको चिन्ता थपिएको छ । लकडाउनको शुरुआती समयमा मलंगवामा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण लकडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय लापरवाही व्यापकरूपमा बढ्न थालेको नागरीक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताए । लकडाउनमा पनि बजारमा सामान किन्न मानिस समूह बनाएर आउने गरेकाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए । साना–साना बच्चा काखमा च्यापेर महिला न्यूनतम सुरक्षासमेत नअपनाइ हिँडिरहेको पाइएपछि आफूहरूले सतर्कता अपनाउँदै घरमै बसिदिन आग्रह गर्ने गरेको उहाँको भनाइ छ । गाउँघरमा नाम कहलिएका भद्रभलाद्मीहरूबाट लकडाउनको बढी उल्लङ्घन बढेकाले थप चुनौती बढेको उहाँको गुनासो छ ।बिनामास्क, पञ्जालगायत जोखिम न्यूनीकरणका उपायसमेत नअपनाइ मोटरसाइकलमा हिँड्नेलाई कारवाही गर्न प्रहरीलाई भनेको भएता पनि सुरक्षाकर्मीहरु मुकदर्शक बनेर बसेका देखिन्छन् । विश्वभर कोरोनाको त्रास छ तर हामीकहाँ यति धेरै लापरवाही बढिरहेको देख्दा चिन्ता थपिएको छ । लकडाउन उल्लङ्घन गर्नेलाई पटक–पटक सम्झाउँदा पनि नभएको सर्लाही प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । महामारीविरुद्ध सरकारले गरेको लकडाउन जनताले आफ्नै लागि हो भन्ने बुझ्न नसक्नु दुर्भाग्य भएको उहाँको भनाइ छ ।लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै लकडाउन उल्लङ्घन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा लकडाउन उल्लङ्घन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै लकडाउन कार्यान्वयनमा लागेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।