ब्रह्मपुरीमा लामखुट्टेको लार्भा खोज र नष्ट अभियानबारे अभिमुखिकरण कार्यक्रम
सर्लाही,२९ मंसिर । ब्रह्मपुरी गाउँपालिकामा डेंगु, जापानिज इन्सेफाइटिस (जेई) लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि र मलेरिया नियन्त्रणका लागि आज अभिमुखिकरण कार्यक्रम समपन्न गरीएको छ । ब्रह्मपुरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गरीएको सो कार्यक्रममा लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने सम्बन्धि अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष रामपदारथ साहको अध्यक्षतामा समपन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य कार्यालय सर्लाहीका भेकनि मनोज झाले ’ डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अन्डा पार्ने वेलामा टोक्ने गर्छ। एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ। दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन ्। घरभित्र नै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ उनले भने, ‘सामान्य जानकारी नहुँदा डेंगु फैलिने भएको हुँदा अभियानमार्फत सचेतना दिने काम हुन लागेको बताउनुभयो ।’गाउँपालिकाले पालिकाभित्रका ७ वटा वडाहरुलाई केन्द्र बनाएर भोलि मगंलबारदेखि ‘लार्भा खोज र नष्ट ’ अभियान सञ्चालन गर्न लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिवेक शाहले बताउनुभयो ।
लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न गाउँपालिका भित्र घरदैलो अभियान सजगताका साथ चलाइने शाखा प्रमुख शाहले बताउनु भयो । यस अभियान कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायतको टोली परिचालन गरिने छ ।

