सर्लाही,२७ असोज । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा सघं सर्लाहीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्धको जाहेरी आज सर्लाही प्रहरीलाई बुझाएको छ । अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा प्रहरीलाई जाहेरी दिईएको हो ‘जाहेरी प्रहरी कार्यालयमा छोडेको छौँ ।
जाहेरी दर्ता प्रकीया अगाडी बढे नभने थप न्यायिक निरुपणमा लागि अगाडि बढ्छौं,’ अध्यक्ष खडकाले प्रहरी परिसरबाट भने । यस्तै अनेरास्ववियका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला दिनहरूमा भएका घटनाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गराएको बताए । ‘कुनै मान्छेले हुंकार गरेकै भरमा सरकारी कार्यालय चल्दैन । विधिको शासन हुनुपर्छ । सरकारी कार्यालयमा छिरेर उर्दी जारी गर्ने काम सह्य हुँदैन । दलीय राजनीति बाहिर छ भनेर सरकारी कार्यालयमा हुकुमी शासन चल्दैन,’ उनले भने ।