FEATUREDHealth

डेंगु संक्रमण घट्यो

वर्षायामसँगै बढेको डेंगुको संक्रमण विस्तारै घट्न थालेको छ। वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो।

अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ। जसले गर्दा डेंगुको संक्रमण पनि कम हुँदै गएको हो।

वर्षायाममा कुनै समय एक हप्तामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए। अहिले त्यो सङ्ख्या निकै घटेको छ।

गत मंगलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म छ सय २४ जनामा मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जवकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको संक्रमण देखिएको थियो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेंगुको संक्रमण विगत दुई हप्तादेखि घटेको बताए।

उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामका आधारमा डेंगुका बिरामी घटेका बताए।

महाशाखाकै कीटजन्यरोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेंगुको संक्रमण बढेको र त्यसपछि ३८ औं हप्तादेखि घटन सुरु भएको जानकारी दिए।

नेपालमा यसवर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन्। यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेंगुका बिरामी भेटिएका छन्।

तीमध्ये ५४ जनाको डेंगुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *