News

गोडैतामा नक्कली मल बेच्ने व्यापारी पक्राउ

  • सदाम हुसैन
    सर्लाही, १७ माघ । नुनमा रासायनिक पदार्थ मिसाएर मल हो भन्दै बेच्ने एक जना व्यापारीलाई सर्लाही प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्लाको दक्षिणी भेगस्थित गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई आफ्नै घरमा नक्कली मल बनाई किसानलाई बेच्दै गर्दा सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । व्यापारी दासले नुनमा रासायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । दासले गोडैता न.पा. –७ स्थित घरमा महालक्ष्मी कृषि सहकारी संस्था र गोडैतान.पा. –८ बजारमा दास बिज भण्डार नामले नक्कली मलको व्यापार गर्दै आएका थिए । पक्राउ परेका दासको घरमा रहेको महालक्ष्मी सहकारीबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको ३१ बोरा र खुला २५ किलो नियन्त्रणमा लिएको छ । एउटा बोरा, आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेँलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको एउटा खाली बोरा बरामद गरेको छ ।सोही संस्थाबाट साल्ट लेखिएको सेतो रङ (नुन) का १०३ वटा बोरा, डिजिटल तौल गर्ने मेसिन एक थान, रातो रङ लागेको बेल्चा एक थान, बिरला ओक्साइड सिमेन्ट लेखिएको खाली प्याकेट चारवटा नियन्त्रणमा लिइएको छ । आधा–आधा भरिएको प्याकेट दुईवटा तथा बोरा सिलाउने मेसिन एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उहाँका अनुसार बजारमा दास बिज भण्डार नामले सञ्चालनमा ल्याएको पसलबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो वजन भएको पहेँलो रङको सिलाएको बोरा १० वटा पनि बरामद गरेको छ । नुनलाई नक्कली मल बनाएको खबर पाएपछि दाससहित सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *