कोरोना संक्रमण नियन्त्रण गर्ने निर्णय
- सदाम हुसैन
सर्लाही, २३ चैत । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि सर्लाहीको हकमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भनी बिहीबार सदरमुकाम मलंगवामा छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सरोकारवालाबीच कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका सम्वन्धमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठक बसी छलफल गरिएको हो । बैठकले छिमेकी मुलुक भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण पुनः बढिरहेको र नेपालमा समेत उक्त भेरिएन्ट बढ्दो क्रममा रहेको सन्दर्भमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न सार्वजनिक आब्हान गर्ने निर्णय गरेको छ । त्यसैगरी, कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण रोकथाम एवं नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न–गराउन स्थानीय तह, जिल्लास्थित स्वास्थ्य कार्यालय, गैरसरकारी संघसंस्थाहरुको समन्वयमा स्थानीय एफएम रेडियोबाट सूचनामूलक प्रचार सामग्रीहरु तयार गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने, प्रादेशिक अस्पताल मलंगवामा आवश्यकता परेको बखत एच डी यू बेड संचालनमा ल्याउने गरी तयारी अवस्थामा राख्ने, बुस्टर डोजको लागि खोप उपलब्ध गराइदिन सम्वन्धित निकायमा माग गरी लेखी पठाउने, खुला सीमा नाकामा हुने आवतजावतलाई मध्यनजर गरी चेकजाँचमा कडाई गर्ने, स्वास्थ्यकर्मीको तलब भक्ताको व्यवस्था गरी सेवा करारमा दक्ष जनशक्तिको व्यवस्था गर्न सम्वन्धित निकायहरुसँग समन्वय गर्नेलगायतका निर्णय भएका छन् । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, स्वास्थ्य कार्यालय तथा प्रादेशिक अस्पतालका प्रतिनिधि, सुरक्षा अधिकारी र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।