FEATUREDLatestNews

कानून बिपरित कुनै काम गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको नगरप्रमुख साहको भनाइ

सर्लाही,१९ कार्तिक । सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले कानून बिपरित कुनै काम गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् । नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी गरेको, आफ्नो भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै सोमबार उपप्रमुख मिकरानीले नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन । उपप्रमुखले लगाएको ताला नगरप्रमुखले तोडेपछि विवाद उग्ररूप लिएको हो । नगरप्रमुखले ताला फोडेको खबर पाएपछि उपप्रमुख मिकरानी पुनः जुलुससहित तालाचाबी बोकेर नगरपालिका कार्यालय पुगेकी थिइन । त्यसपछि विवाद उत्कर्षमा पुगेको थियो । मलंगवाका नगरप्रमुख निरसल साहले आफुविरुद्ध केही वडाध्यक्षको साथ लिएर उपप्रमुखले झुठो आरोप लगाएको बताएका छन् । आर्थिक अनियमिततालगायत आरोपमा कुनै सत्यता नरहेको भन्दै उनले भने म माथि लगाइएको सबै आरोप झुठो रहेको बताए । उपप्रमुखले आफ्नो स्वार्थपूर्ति गर्नका लागि केही वडाध्यक्षको सहयोग लिएर मेरो बदनाम गर्न खोजेको उनले भने । यसै क्रममा मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवाद बढ्दै जाँदा मंगलबार जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले नगरपालिकामा तालाबन्दी गरेका हुन । जिल्ला समन्वय समिति सर्लाहीका सभापति चौधरीले दुवै पक्षबीच छलफल गरेर समस्या समाधान गरेपछि आफैँले ताला खोलिदिने बताएका छन् । नगरप्रमुख पक्ष र उपप्रमुख पक्षबीचको विवादले द्वन्द्वको रूप लिएपछि विवाद मिलाउन कार्यालयमा तालाबन्दी गर्नुपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *