FEATUREDLatestNews

अनुमति विनै सुत्केरीको शल्यक्रिया गर्ने पोलिक्लिनिकलाई कानूनी कारबाही गर्न अनेरास्ववियुको माग

मलंगवा,२० भदौ । शल्यक्रियाको अनुमति नै नभएको अमत्र्य पोलिक्लिनिकले जोखिमपूर्वक शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु भएपछी सत्ताधारी नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले उक्त पोलिक्लिनकिलाई अबिलम्ब कानूनी कारबाही गर्न माग गरेको छ ।अनेरास्ववियु जिल्ला सहसंयोजक समिमबाबु पठानले अनुमति विनै सुत्केरीको शल्यक्रिया गर्ने पोलिक्लिनिक सहित मापदण्ड विपरित चलिरहेका स्वास्थ्य संस्थाका संचालकहरुलाई कानून बमोजिक कडा कारबाहीको दायरामा ल्याउन माग गरे । यसैबीच शुक्रबार अनेरास्ववियु सर्लाही र सर्लाही क्याम्पस ईकाई कमिटीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत बुझाएका छन् । प्रेस विज्ञप्तिमा जिल्ला स्थित निजी स्वास्थ्य संस्थाहरु अनुमति प्राप्त मापदण्डमा सञ्चालन भए नभएको अनुगमन गर्नुपर्ने, सेवाहरुको शुल्क सबै सेवाग्राहीले देख्नेगरी नागरिक वडापत्र राख्न लगाउनुपर्ने, जिल्ला सरकारी अस्पतालमा यथाशिघ्र प्रसुती शल्यक्रिया सूरु गराउनुपर्ने लगायत विभिन्न माग राखेर जारी गरिएको प्रेस विज्ञप्ति विद्यार्थीहरुले प्रजिअ पौडेललाई बुझाएका हुन् । तीन दिनभित्र माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने प्रेस विज्ञप्तिमा चेतावनी समेत दिईएको छ ।
मलंगवा नगरपालिका–१०, निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउने क्रममा शल्यक्रिया गरेको चार दिनपछि मृत्यु भएको थियो । भदौ १२ गते मलंगवा नगरपालिका–९, स्थित सो पोलिक्लिनकमा भर्ना गरिएकी सविताको भदौ १६ गते मंगलबार बिहान मृत्यु भएको थियो । थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको देखाउन पोलिक्लिनिकमै मृत्यु भएपनि हतार हतार सवितालाई मंगलबार बिहान ३ बजे एम्बुलेन्समा राखेर जबर्जस्ती पठाईएको आफन्तले गुनासो गर्दै आएका छन् ।सो घटनाको आवश्यक छानविन गरी क्षतिपूर्ति उपलब्ध गराईदिन माग गर्दै मृतक सविताका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले शुक्रबार बिहान सीडीओ कार्यालयमा उजुरी दिएकी छिन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मृतकको परिवारबाट घटनाबारे छानविन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी परेको जानकारी दिए । ‘उजुरी परेपछि घटनाबारे छानविन सूरु गरिएको छ’, प्रजिअ पौडेलले भने, ‘जिल्ला स्वास्थ्य कार्यालय, मलंगवा नगरपालिका कार्यालय लगायतसँग आवश्यक कागजात झिकाएर अन्य स्वास्थ्य संस्थाहरुको पनि छानविन अगाडी बढाउने तयारी भईरहेको छ ।’पोलिक्लिनिकमा सामान्य ओपिडी सेवा मात्रै प्रदान गर्ने अनुमति भएपनि डा. सुरेन्द्र कुमार यादवले लामो समयदेखि ‘अप्रेसन थिएटर’ नै खडा गरी शल्यकृया गर्दै आएको पाइएको छ । सुत्केरीको मृत्यु पश्चात दुई दिनअघि सञ्चारकर्मीहरु पोलिक्लिनिमा पुग्दा डा. यादव स्वयंमले शल्यकृयाको अनुमित नपाएको स्वीकार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *