भक्तिपुरमा एक युवक पोखरीमा मृत भेटिए
- सदाम हसैन
सर्लाही २३ चैत । सर्लाहीको भक्तिपुरमा बुधबारदेखि हराइरहेका एक किशोरको शव बिहीबार पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन बरहीको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको हो । बुधबार दिउँसो घरबाट बाहिरिनुभएका भुवन रातिसम्म नआएपछि अभिभावकले प्रहरीमा जानकारी गराएका थिए । किशोर बेपत्ताको सूचना पाएको प्रहरी टोलीले उनको घरबाट करिब एक किलोमिटर पर रहेको पोखरीको किनारमा साइकल र केही कपडा देखेपछि पोखरीमा खोजतलास गर्दा किशोरको शव फेला परेको प्रहरीले जनाएको छ । गर्मी छल्न पोखरीमा पौडी खेल्नेक्रममा किशोरको डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।