मलंगवामा उच्च सतर्कता, भोलीदेखि बैंक तथा वित्तीय संस्था पूर्णरुपमा बन्द
मलंगवा,०५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित लगातार बढेपछि मलंगवामा उच्च सतर्कता अपनाइएको छ । जेठ ६ देखि ११ गतेसम्म बैंक तथा वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवाप्रवाह तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको मलंगवा नगरपालिकाका प्रमुख निरशल साहले बताए । बैंकमा सकेसम्म नआउन र विद्युतीयरूपमा नै कारोवार गर्न मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदीले प्रेरित गरेका छन् । पछिल्लोपटक कोरोना भाइरसको सङ्क्रमण नोटबाट समेत फैलने एवं सर्नसक्ने अवस्था आएको छ । अध्ययनबाट कोरोना सङ्क्रमणको खतरा नोटबाट पनि देखिएको छ । नोट कारोवारको सट्टा कार्ड तथा विद्युतीय कारोवारको माध्यम प्रयोग गर्न आग्रह गरिएको नगरपालिकाका सुचना अधिकारी राजकुमार अधिकारीले बताए । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मार्फत पनि कारोवार वा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएका कुमारी बैंकका ब्रान्च मैनेजर दिपेश अमात्यले जानकारी गराए । हालसम्म बैंकले निश्चित बैंकका शाखा खोलेर बैंकिङ सेवा दिदैं आएको थियो ।