अकमललाई तीन वर्ष प्रतिबन्ध
लाहोर । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राष्ट्रिय टिमका सदस्य उमार अकमललाई क्रिकेट खेल्न तीन वर्षको प्रतिबन्ध लगाएको छ । पीसीबीले सोमबार अकमललाई म्याच फिक्सिङको आरोप लगाउँदै सबै खाले क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
फिक्सिङका लागि आएको प्रस्तावको रिपोर्ट नगरेको भन्दै बोर्डले उनलाई प्रतिबन्ध गरेको हो । पीसीबीले सामाजिक सञ्जाल ट्वीटरबाट उनलाई प्रतिबन्ध गरिएको जनाएको छ । अनुशासन कमिटीका अध्यक्ष फजल चौहानसहितको कमिटिले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको पीसीबीले जनाएको छ । यसअघि पीसीबीले उनलाई गत फेब्रुअरीमा निलम्बन गरेको थियो । २९ वर्षे अकमलले पाकिस्तानका लागि १६ टेस्ट, १ सय २१ एक दिवसीय र ८४ टी–२० खेलेका छन् ।