झयापझयाप बत्ती जान थालेपछि सर्लाहीमा चर्कियो विद्युत समस्या
- सर्लाही,११ साउन । सर्लाहीमा विद्युत समस्या चर्किएको छ । झयापझयाप बत्ती जान थालेपछि जिल्लाबासी आक्रोशित भएका छन् ।दैनिकरुपमा विद्युत आपूर्ति नहुँदा उपभोक्ता हैरान भएका छन् ।कहिले दिनभरी विद्युत जान्छ भने कहिलेकाहीं रातभरी विद्युत जाने गरेको छ । प्राधिकरणका कर्मचारीलाई सोध्दा प्राविधिक समस्या भन्दै आलटाल गर्ने गरेका छन् । विगत केहि दिनदेखि बिजुली अनियमित भइरहेको छ । केही क्षण बिजुली कटौती हुनेदेखि जिल्लाका विभिन्न स्थानमा दिनैभरसम्म बिजुली जाने समस्या देखिएको छ । सर्लाहीको अनियमित विद्युत समस्या चाडैं सल्टाउने प्रतिबद्धता जनाउदैं आएका विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख बिनोद यादवको भाकाले समस्या सुल्झिन सकेको छैन् ।यसरी बिद्युत बारम्बार आउने जाने गर्दा बिद्युतिय उपकरणमा क्षेति भएको मलंगवा नगरपालिका ९ का नवीन मिश्रले गुनासो गरे । उनका अनुसार बल्ब जल्ने, फ्रिज, एसि जस्ता बिद्युतिय उपकरण चाडै बिग्रने समस्या आएको छ । त्यति मात्रै नभई अहिले बिद्यार्थिहरुको अनलाइन क्लास चलिरहेको कारण बत्ति आउने जाने गर्दा समस्या भएको मिश्रले आक्रोश ब्यक्त गरेका छन् । बारम्बार विद्युत आउने जाने गर्दा विद्युतबाट सञ्चालन हुने उद्योग कारखानाको काम प्रभावित भएको तथा सरकारी कार्यालय, वित्तिय संस्था र अन्य निकायबाट अनलाइन मार्फत लिनु पर्ने सेवा समेत प्रभावित भएको स्थानियको गुनासो छ । यता प्रमुख बिनोद यादवले केही दिन यता विद्युत प्रवाह समस्या देखिएको भन्दै त्यसको समाधान गर्न लागिरहेको बताए ।

