Politics

मधेश सरकार बुलेट ट्रेनको स्पीडमा काम गर्नेछः मुख्यमन्त्री यादव
– सदाम हुसैन
धनुषा, २२ माघ । मधेश प्रदेशसभाले स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले पूर्णता पाएको सरकारले बुलेटको गतिमा काम अगाडि बढाउने बताएका छन् । सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताए । यस अघि उनी मधेश प्रदेश सभाको ५ वर्ष सभामुख भएर कामकाज गरेका थिए । उनको सक्रियतामा प्रदेशले पहिचान सहितको मधेश प्रदेश नाम र जनकपुरधाम स्थायी राजधानी घोषणा भएको हो । ‘प्रदेश सरकारले सबै पक्षलाई समेटेर ठोस कार्य योजना बनाउने छ’ उनले भने, प्रदेशको दोस्रो कार्यकालको सरकारले बुलेट ट्रेनको गतिमा काम अगाडि बढाउनेछ । भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आगामी सरकारको सकारात्मक कारबाहीलाई निरन्तरता दिने उनले उल्लेख गरे । प्रदेश सरकार विकासको लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्ने तयारीमा जुटिसकेको मुख्यमन्त्री यादवले बताए । प्रदेश सरकारलाई शुक्रवार पूर्णता दिएका मुख्यमन्त्री यादवले प्रदेशमा भ्रष्टाचार ‘शून्य सहनशीलता’ रहेको दोहो¥याए । सभामुख मण्डलले संघीयतामाथि कुनै खतरा नरहेको बताउँदै यसको विकल्प नभएको बताए ।प्रदेशसभाको पहिलो कार्यकालमा नीति निर्माण लगायतको काममा महत्वपूर्ण योगदान दिएका सांसदहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोज कुमार यादवले दोसल्ला तथा कदरपत्रले सम्मान गरे । पहिलो कार्यकालको उत्कृष्ट सांसद नेपाली कांग्रेसका शिवचन्द्र चौधरीलाई प्रदेश सभाले सम्मान गरेका छन् । चौधरी भने यस कार्यकालमा सभासद छैनन् । पहिलो कार्यकालको २ सय २८ बैठक मध्ये २ सय ३ बैठकमा उपस्थित रहेका चौधरीले १ सय ४० पटक प्रदेश सभामा आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको चौथो वर्षको वार्षिकोत्सव हावाहुरीको कारण प्रभावित भएको थियो । चौथों वर्षको उत्कृष्ट सांसद जनता समाजवादी पार्टी (जसपा) का रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रानी शर्मा तिवारी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *