FEATUREDLatestNews

सीमा नाकामा झमेला यथावतै

स्थानीयवासी चोरबाटोेको प्रयोग गर्न बाध्य
सर्लाही,०३ फागुन । भारतसँग खुला सिमाना रहेका सर्लाहीका सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् । व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमानाका बन्द गरिँदा स्थानीयवासी मारमा परका छन् । जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्न गर्दछन् । सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै छ । दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सोनबरसाबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन । प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन । नाका खुलाउन सर्लाहीसहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सीमामै धर्ना दिएका थिए । सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहमा रहनुभएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो ।सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उहाँको भनाइ छ । सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापारव्यवसायसमेत प्रभावित भएको उद्योग वाणिज्य सङ्घ मलंगवाका अध्यक्ष बिरेन्द्र साहले बताउनुभयो । चौसट्ठी किलोमिटर खुला सिमाना रहेको सर्लाहीमा अधिकांश स्थानमा खेतको बाटोको प्रयोग बढेको छ । सिमानामा दुवै देशका सुरक्षाकर्मीहरु तैनाथ छन् । दैनिक उपभोग्य सामग्री खरिदका लागि तराईका जिल्लाका स्थानीयवासी भारतीय बजारमा जाने गर्दछन् । सीमानाका बन्दका बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । सीमानाका बन्दका बहानामा जिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *