सशस्त्र प्रहरीले स्रोत नखुलेको १७ लाख ९० हजार रुपैयाँसहित दुई समाते
सर्लाही,२४ बैशाख । सशस्त्र सीमा सुरक्षा बल मलङ्ग्वाले स्रोत नखुलेको १७ लाख ९० हजार रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक रामललित मण्डल र सहचालक निरज कुमार रहेका छन् ।भारतको बिहार राज्य, सितामढी जिल्लाको मुजेलियाबाट धान बोकेर सर्लाहीको सदरमुकाम मलङ्ग्वामा प्रवेश गर्नैलाग्दा ट्रक र अवैध रकमसहित उनीहरुलाई पक्राउ गरीएको सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिए ।सर्लाहीको भन्सार चेकपोष्टमा निरीक्षक सन्जित सिंहको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उक्त अवैध रकम बरामद गरेको हो । सशस्त्रले बिआर ३० जिए २४५८ नम्बरको ट्रकलाई पनि नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी निरीक्षक सिंहले पक्राउ परेका दुवै जना भारतीय नागरिक भएको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जानकारी दिए । उक्त रकम अवैध हुण्डी कारोबारीको हुनसक्ने उनको अनुमान छ ।सशस्त्र प्रहरीले बरामद रकम बुधबार सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ ।

