सर्लाही क्याम्पस मलंगवा स्ववियु निर्वाचनमा उम्मेदवारी दर्ता
- सदाम हुसैन
सर्लाही, ३० फागुन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सर्लाहीको सबैभन्दा जेठो सर्लाही क्याम्पसमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । सर्लाही क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाका अनुसार मंगलबार सम्पूर्ण पदका लागि उम्मेदवारी दर्ता भएको हो । लालबन्दी र सुखेपोखरी क्याम्पसमा सत्ता गठवन्धन र एमालेले उम्मेदवारी दिएका थिए । तर, मलंगवामा भने तीनवटा समूह देखिएका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापतिमा सुजित यादव, जसपा र लोसपाको गठवन्धनबाट सभापतिमा जसपाका रामप्रवेश साह र एमाले–जनमत गठवन्धनबाट सभापतिमा एमालेका धर्मेन्द्र यादवले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका संयोजक झाका अनुसार सभापतिमा ३ जना, उपसभापतिमा ५ जना, सचिवमा ४ जना, कोषाध्यक्षमा ५ जना, सह–सचिवमा ४ जना र सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ । सर्लाही क्याम्पसमा पदाधिकारी र सदस्य सबै प्रत्यक्ष मतदानबाट चुनिने छन् । जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा भने केही दिनअघि नै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।