सर्लाहीमा महोत्सव र सभा जुलुस गर्न प्रतिबन्ध
सर्लाही, २५ कात्तिक । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ । आज सूचना प्रकाशित गरी प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम रहेकाले मानिस भेला हुने गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचना अनुसार सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन । त्यस्तै जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शनी गर्न पनि पाइने छैन । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न, चाडपर्वमा हुने जमघट, गोष्ठी, सेमिनार, तालिम पनि मापदण्ड र प्रोटोकल विपरीतका काम गर्न पनि निषेध गरिएको छ । त्यस्तै हिन्दु धर्मालम्बीहरुको महान चाड तिहार र छठ पनि उच्च सतर्कता अपनाएर मनाउन आग्रह गरीएको छ ।

