सर्लाहीमा पनि ३ दिन गणतन्त्र दिवस मनाइने
सदाम हुसैन-
सर्लाही, १० जेठ । सर्लाहीमा गणतन्त्र दिवस २०८० धुमधामसँग मनाइने भएको छ । त्यसका लागि बुधबार सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवस मनाउन जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको संयोजकत्वमा मूल समारोह समिति बनाइएको हो ।

यो वर्षको गणतन्त्र दिवस जेठ १५ गते मनाइँदै छ । बैठकले जेठ १४, १५ र १६ गते साँझ जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा आम नागरिक समेतलाई आह्वान गरी साँझ दीप प्रज्वलन गर्ने र दिवसकै दिन सदरमुकाम मलंगवामा बिहानभर विविध कार्यक्रम गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार १५ गते प्रादेशिक अस्पताल मलंगवामा फलफूल वितरण, प्रभातफेरि, रक्तदान र झण्डोत्तोलनसहित सार्वजनिक स्थलहरुको सरसफाई तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको छ ।

