News

सर्लाहीमा पनि अत्यधिक गर्मी

सदाम हुसैन–


सर्लाही, १७ जेठ । सर्लाहीमा फेरि उखरमाउलो गर्मी हुन थालेको छ । यहाँ पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि अत्यधिक गर्मी हुन थालेको हो । असिनपसिन हुने गरी गर्मी बढ्दा जनजीवन शिथिल बन्न पुगेको छ । गर्मीले मानिस छटपटाउन थालेका छन् । यहाँका सर्वसाधारणले यस वर्षकै धेरै गर्मी महसुस गरे । दिनभरको टन्टलापुर घाम र राति पनि हावा नचल्दा हपक्क गर्मी हुँदा जनजीवन प्रभावित बन्न पुगेको हो । घरबाहिर निस्कनुपर्ने किसान तथा मजदुर, विद्यार्थीलगायत गर्मीले बढी प्रभावित बनेका छन् । सर्लाहीमा आज पनि बिहानैदेखि अत्यधिक गर्मी छ । चर्को घाम लागेर हावा नचलेका कारण जिल्लाभर अधिक गर्मी महसुस भएको सर्वसाधारणले बताएका छन् । जिल्लामा पानी पर्दा एक/दुई दिन शित्तल भएपनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढ्ने गर्छ । गर्मीले मानिस बिरामी नै पर्ने अवस्था छ । चिकित्सकले यो बेला प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । तर दैनिकी मजदुरीमा निस्कनुपर्नेहरुलाई यि सबै कुरा सहनुपर्ने अवस्था छ । तराई मधेशमा पछिल्ला वर्षहरुमा वन विनाश, अवैध उत्खनन र मनपरी बढेमानका संरचना निर्माण गर्दा गर्मी बढेको तर्क बुढापाकाहरुले गर्ने गरेका छन् । यसैबीच, मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि–मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो । मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *